यूएनको गाडी भित्रै यौन सम्पर्क !

जेरुसेलम(एजेन्सी) । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्नो एक आधिकारिक गाडीमा भएको सेक्स फुटेजका बारेमा धारणा सार्वजनिक गरेको छ । आफ्नो गाडीमा भएको उक्त अनैतिक क्रियाकलापले चिन्तित बनाएको जनाएको छ । उक्त भिडियो क्लिपमा यूएनको गाडीको पछाडिको सिटमा रातो पहिरन लगाएकी एक महिला र एक पुरुष सेक्स गरिरहेका छन् । सामाजिक सन्जालमा भिडियो भाइरल भइरहेको छ ।

इजरायलको तेल अबीबको समुन्द्र किनाराको सडकमा यस्तो भिडियो बनाइएको हो । संयुक्त राष्ट्र संघले यो घटनाको विषयमा जाँच गरिरहेको जनाएको छ । उसले भिडियोमा देखिएका व्यक्तिको पहिचान गर्ने काम भइरहेको उल्लेख गरेको छ । यूएनका अनुसार भिडियोमा देखिएका व्यक्तिहरु इजरायलमा एक शान्ति रक्षक दलका सदस्य हुनसक्ने आशंका गरिएको छ । भिडियोमा अगाडिको सीटमा एक व्यक्ति बसेका छन् । तर उनले गाडी भने कुदाएका छैनन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसका प्रवक्ता स्टीफन दुजारिकले १८ सेकेण्डको यो भिडियोलाई वीभत्स भनेका छन् । ‘यदी यूएनका कर्मचारी नै यो सबै काम गर्छन् भने हामी जुन दुव्र्यवहारका विरुद्ध लडिरहेका छौं, त्यसको केही मतलब रहेन ।’ उनले भनेका छन् । कारमा सेक्स दुवैको सहमतिमा गरिएको थियो या पैसा दिएर गरिएको थियो ? भन्ने विषयमा दुजारिकले अनुसन्धान भइरहेको बताएका छन् ।

आफ्ना कर्मचारीको व्यवहार र आचरणलाई लिएर संयुक्त राष्ट्रसंघको ठूलो कडा नीति छ । यदी कोही कर्मचारीले नियमको उल्लंघन गरेको पाइएमा उसका विरुद्ध अनुसन्धनात्मक कारवाही हुनेछ । यूएन पीसकीपिङ अपरेसन यस्ता कर्मचारीलाई या त फिर्ता पठाउँछन् या काममा प्रतिबन्ध लगाउँछन् । यसपछि उक्त स्टाफको देशले नै उनलाई कानूनी कारवाही गर्ने जिम्मेवारी पाउछ । यूएनका पीसकीपर्स र अन्य कर्मचारीमाथि लामो समयदेखि यौन दुराचारको आरोप लागिरहेको छ । हालैको वर्षमा यस्ता आरोपको संख्या निकै बढी छ ।