पुनम पाण्डे इन्गेज्ड

मुम्बई(एजेन्सी) । फिल्म अभिनेत्री पुनम पाण्डेले आफ्नो पुरानो प्रेमी सेम बम्बेसँग इन्गेजमेन्ट गरेकी छन् । यसलाई उनले ‘सबैभन्दा राम्रो अनुभव’ भनेकी छन् । सेमले आफ्नो इन्स्टाग्राममा आफ्नो इन्गेजमेन्टको औठी देखाउँदै ‘हामीले अन्ततः गर्यौ’ भनी लेखेका छन् । त्यही तस्बिरमा पुनमले ‘सबैभन्दा राम्रो लागिरहेको छ’ लेखेकी छन् । उनले तस्बिरमा मुटु चित्र अंकित इमोजी पनि शेयर गरेकी छन् । यो तस्बिर आएसँगै उनीहरुलाई बधाईको ओहिरो लागेको छ ।

एक प्रयोगकर्ताले तस्बिरमा ‘तपाईं शौभाग्यशाली पुरुष हो कि पुनम मेम अब तपाईंको हो’ भन्दै कमेन्ट गरेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले ‘वाह, बधाई छ । खुशी रहनुहोस् र राम्रो जीवन व्यतित गर्नुहोस्’ भन्दै लेखेका छन् ।

गत मेमा पुनम र सेमलाई मुम्बई प्रहरीले लकडाउन उल्लंघन गरेको र एक यात्रामा गएको भन्दै उजुरी दर्ता गरेको थियो । तर पुनमले इन्स्टाग्राममा एक भिडियो राख्दै प्रहरीको आरोपको खण्डन गरेकी थिइन् । भारतीय क्रिकेट टिमले सन् २०११ को विश्वकप जितेमा आफू नग्न भई उत्सव मनाउने घोषणा गरेपछि पुनम चर्चामा आएकी थिइन् ।