कहाँ गयो सुशान्तको पैसा र सरसामान ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले छोराको निधनको करिब डेढ महिना पछि मुख खोल्दै अभिनेत्री तथा सुशान्तकी नजिककी अभिनेत्री रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् । उनले सुशान्तसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै ती कुरामाथि प्रश्न गरेका छन् । केकेले जुलाई २५ मा बिहारको राजीवनगर थानामा जुन एफआईआर दर्ता गराएका छन्, त्यसमा उनले रियासहित उनको पूरा परिवारमाथि आरोप लगाएका छन् ।

बिहारमा दर्ता भएको एफआईआर संख्या २४१ र २० मामलामा रिया चक्रवर्तीसहित ६ जनाका विरुद्ध आइपीसीको धारा ३४०, ३४१, ३४२, ४०६, ४२० र ३०६ अनुसार मुद्धा दर्ता गराइएको छ । सुशान्तका पिताले रियाका अलावा इन्द्रजीत चक्रवर्ती, सन्ध्या चक्रवर्ती, शोविक चक्रवर्ती, सेमुअल मिरिण्डा, श्रुति मोदी र अन्यका विरुद्ध धोकाखडी, बेइमानी, बन्धन बनाएको र आत्महत्याका लागि बाध्य बनाइएको आरोप लगाइएको छ । एफआईआरमा सुशान्तका पिताले ७ सवालको उठान गरेका छन् ।

पहिलो सवालमा सन् २०१९ अघिसम्म सुशान्त राम्रो भएको र त्यसपछि उनको दिमागी रुपले किन चिन्तित भए भन्ने छ । त्यस्तै दोस्रो सवालमा यदी सुशान्त दिमागी रुपले अस्वस्थ्य थियो र उनको उपचार भइरहेको थियो भने परिवारको अनुमति किन लिइएन भन्ने छ । जुन जुन चिकित्सकले सुशान्तको उपचार गरे, उनीहरुले कुन औषधि दिए त्यसको छानविनको माग गरेका छन् ।

सुशान्त बिरामी भएको थाहा हुँदा हुँदै उसलाई रियाले एक्लै छोड्नु, उपचारका सबै कागजात आफूसँगै राख्नु, सुशान्तसँग किसिमको सम्पर्क तोड्ने काम किन भयो भन्ने प्रश्न गरेका छन् । रियाको आगमनपछि सुशान्तको फिल्म किन कम आउन थाल्यो, यो विषयमा पनि अनुसन्धान हुनुपर्ने पिताको तर्क छ ।

उनले सुशान्तको बैंक खाताबाट १५ करोड रुपैंयाँ कुनै लेनदेन नै नभएको बैंक एकाउन्टमा सारिएको भन्दै त्यो बैंक खाताको जाँचको माग गरेका छन् । रियाले किन सुशान्तको जरुरी कागजात, क्रेडिट कार्ड, जेवर, क्यास र ल्यापटपसहित अन्य सामान लिएर गइन्, त्यसको पनि अनुसन्धानको माग गरेका छन् ।