मुम्बई(एजेन्सी । बलिउड फिल्म ‘दृश्यम’ निर्देशक निशिकान्त कामतको निधन भएको छ । निशिकान्तको निधनको अभिनेता रितेश देशमुखले एक ट्वीटमार्फत जानकारी दिएका हुन् । रितेशले आफ्नो ट्वीटर हेण्डलमा निशिकान्तको एक तस्बिर राखेका छन् । जसमा रितेशले निशिकान्तलाई अंगालो मारेका छन् । फोटोसँगै रितेशले ‘म तिमीलाई मिस गर्छु मेरो साथी निशिकान्त कामत, भगवान तिम्रो आत्माको शान्ति दिऊन’ भनी लेखेका छन् । निशिकान्त लामो समयदेखि लिभर सिरोसिस नामक गम्भीर बिरामीबाट पीडित थिए । उनी लामो समयदेखि हैदराबादको एआईजी अस्पतालमा भर्ना भएका थिए ।
यसअघि निशिकान्तको निधनको खबर आइरहँदा रितेशले निशिकान्त जिउँदो भएको तर उनको अवस्था नाजुक भएको बताएका थिए । ‘निशिकान्त कामत भेन्टिलेटरको सर्पोटमा छन् । उनी अहिले जिउँदा छन् र लगातार लडिरहेका छन् । उनका लागि प्रार्थना गरौं’, रितेशले निशिकान्तको निधनको हल्ला गलत भएको भन्दै ट्वीट गरेका थिए ।
I will miss you my friend. #NishikantKamat Rest In Peace. 🙏🏽 pic.twitter.com/cqEeLbKJPM
— Riteish Deshmukh (@Riteishd) August 17, 2020
निशिकान्तले कैयौं बलिउड फिल्मको निर्देशन गरिसकेका छन् । जसमा अजय देवगन, तब्बूको ‘दृश्यम’, इरफान खानको ‘मदारी’, ‘मुम्बई मेरी जान’ प्रमुख छन् । उनले केही फिल्ममा अभिनय पनि गरेका थिए । उनले ‘रकी हेण्डसम’मा नकारात्मक भूमिका निर्वाह गरेका थिए । त्यस्तै मराठी फिल्म ‘डोंबिवली फास्ट’बाट डेब्यू गरेका कामतले सन् २००८ मा बलिउडमा आएका थिए । उनले सन् २००६ मा मुम्बई बम विसफोटमा आधारित फिल्म ‘मुम्बई मेरी जान’ बनाएका थिए । उनी हाल फिल्म ‘दरबदर’माथि काम गरिरहेका थिए । यो फिल्म सन् २०२२ मा रिलिज गर्ने तयारी भइरहेको थियो ।