टिकटक बनाउदा दुई वर्ष जेल

मिश्र(एजेन्सी) । इजिप्टका पाँच युवतीलाई टिकटक बनाएको आरोपमा जेल सजाय दिइएको छ । हालैमात्र दुई वर्षका लागि जेल सजाय सुनाइएकी सामाजिक सन्जाल उत्प्रेरक मवादा अल अदमकी बहिनी रहमाले आफ्नी दिदी प्रख्यात हुनका लागि टिकटकको कदम चाल्दा जेल सजाय भोग्नुपरेको बताइन् ।

२२ वर्षकी विश्वविद्यालयकी छात्रा मवादालाई मिस्रको पारिवारिक मूल्यको उल्लंघन गरेको भन्दै दोषी ठहराइएको थियो । टिकटक र इन्स्टाग्राममा प्रख्यात गीतमा फेसनेबल कपडा लगाएर लिपसिंक गर्दै नाचेर भिडियो पोस्ट गरेपछि उनलाई गत मेमा पक्राउ गरिएको थियो । उजुरीकर्ताले उक्त भिडियोलाई अभद्र मानेको थियो ।

मवादा ती पाँच युवतीमध्ये एक हुन्, जसलाई एकै किसिमको जेल सजाय दिइएको छ । यसबाहेक उनीहरुलाई जनही २० हजार डलरको जरिवाना पनि लगाइएको छ । यीमध्ये अर्की सामाजिक सन्जाल स्टार हनीन होसाम पनि हुन् । बाँकी अन्य तीनको नाम खुलाइएको छैन । रहमाका अनुसार उनकी दिदी कैयौं प्रख्यात ब्राण्डका लागि सामाजिक सन्जालमा मोडलिङ गर्थिन् ।

एमनेस्टी इन्टरनेशनलले अभियोग दर्ता गराएका अधिकारीहरुले प्रमाणका रुपमा मवादाको १७ फोटोको प्रयोग गरेको जनाएको छ । उनीहरुले उक्त फोटो अभद्र भएको दाबी गरेका छन् । मवादाले भने ती तस्बिरहरु गत वर्ष चोरी भएको आफ्नो मोबाइलबाट लिक भएको दाबी गरेकी छन् ।

मिस्र मुस्लिम बहुसंख्यक देश हो । यहाँ रुढीवादी समाज छ र इजिप्टको केही मानिसहरु टिकटक भिडियोलाई अश्लिल मान्छन् । टिकटकको समर्थन गर्नेहरुलाई उनीहरुको व्यवहार अनुचित भन्दै आलोचना गरिन्छ । केही मानिसहरुले युवतीहरुले मनोरन्जनका लागि टिकटक बनाएकाले त्यो विषयलाई जेल पठाउनुपर्ने अवस्था नरहेको बताउदै आएका छन् । मानव अधिकार कार्यकर्ताहरुले यी युवतीहरुको रिहाईको माग गरेका छन् ।