टिकटक स्टारलाई डेढ लाख रुपैयाँ पुरस्कार

सुनसरी । राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । ‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७७’ नाम दिइएको प्रतियोगिताका लागि आवेदन सुरु भएको छ ।  प्रतियोगिता सुनसरीको बराहक्षेत्रस्थित रहेको सदाबहार मिडियाले भदौ १३ गते शनिबार कार्तिक २८ गतेसम्म आयोजना गर्न लागेको हो ।

टिकटकमार्फत अभिनय गर्दै आफ्नो भिडियो बनाएर संस्थाको फेसबुकमार्फत पठाउनुपर्ने र विभिन्न चरणमा प्राप्त गर्ने भ्युजको आधारमा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।  भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागिता लागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए । लकडाउनको समयमा लोकप्रिय बन्दै गएको टिकटकमार्फत आफ्नो अभिनय, क्षमता प्रस्तुत गरेर सहभागी हुन सक्ने र विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने मिडियाका अध्यक्ष भवानी धिमालले बताए । उनका अनुसार उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकृति फैलाउने, ब्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँच आउने, अश्लिल प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए ।

टिकटक भिडियोमा स्वयम् आफ्नै हुनुपर्ने र आफैंले अभिनय गरेको हुनुपर्ने, भिडियो १५ सेकेन्ड भन्दा लामो हुनुपर्ने संयोजक भट्टराईको भनाइ छ । पहिलो चरणमा प्रतियोगिमध्ये उत्कृष्ट एक सय जनाको भिडियोमा आएको भ्युजको अधारमा उत्कृष्ट २० छनोट गरिने छ । क्रमशः ५ औ चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, उत्कृष्ट १०, उत्कृष्ट ५ र उत्कृष्ट ३ र फाईनल गरि बिजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।  कोभिड–१९लाई मध्यनजर गर्दै भिडभाड रहित दसै, तिहारलाई प्रोत्साहन भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरको प्रतियोगिताको अवधारणा ल्याएको कार्यक्रम संयोजक भट्टराईले बताए ।