रोबर्ट पेटिन्सनलाई कोरोना संक्रमण

लसएन्जल्स(एजेन्सी) । प्रख्यात अमेरिकी अभिनेता रोबर्ट पेटिन्सनलाई कोरोना संक्रमण भएको छ । अभिनेताको कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको हो । हालै मात्र पेटिन्सनले ‘द ब्याटमेन’को सुटिङ लण्डनमा शुरु गरेका थिए । उनलाई कोरोना संक्रमण भएपछि सुटिङ रोकिएको छ । तर पेटिन्सनले यो कुराको पुष्टि गरेका छैनन् ।

फिल्मको निर्माण कम्पनी वार्नर ब्रदर्सका प्रवक्ताले ‘द ब्याटमेन’का एक सदस्यलाई कोरोना भएको स्वीकारेका छन् । ‘प्रोटोकल अनुसार उनी आइसोलेशनमा छन् । यद्यपि हालका लागि सुटिङ अस्थायी रुपले रोकिएको छ । मेट रिब्सको फिल्म ‘द ब्याटमेन’को लामो समयदेखि चर्चा चलिरहेको थियो । लकडाउनको कारण फिल्मको सुटिङ रोकिएको थियो । फिल्मको सुटिङ गत सेप्टेम्बर १ बाट शुरु भए पनि अब रोबर्टको संक्रमणको खबरले पुनः सुटिङ स्थगित भएको छ ।

निर्देशक रिब्सले फिल्मको तीन महिनाको सुटिङ बाँकी रहेको बताए । ‘तर हामी सुटिङ चाँडै पुरा गर्नेछौं । हामी यो वर्षको अन्त्यसम्ममा सुटिङ सक्ने योजनामा छौं । सन् २०२१ मा रिलिज गर्नका लागि फिल्म पूर्ण तयारी अवस्थामा हुनेछ । फिल्ममा रोबर्टको फस्टलुक गत फेब्रुअरीमा रिलिज गरिएको थियो ।

रोबर्ट भन्दा अघि क्रिस्चन बेल बेन अप्लेक र जर्ज क्लुनीजस्ता कलाकारले ब्याटेमनको भूमिका निर्वाह गरिसकेका छन् । फिल्ममा जोई क्रेविट्स केटवूमेनको भूमिकामा, पल डैनो रिडलरको भूमिकामा, एण्डी सरकिस अल्फ्रेड पेनीवर्थको भूमिकामा, कोलिन फरेल पेंग्विनको भूमिकामा र जेफरी राइट जिम गर्डनको भूमिकामा देखिनेछन् । फिल्म २०२१ को जून २५ मा रिलिज हुनेछ ।