मालिक भेट्न कुकुरको १० हजार माइल यात्रा

सिड्नी(एजेन्सी) । एक कुकुरले १० हजारले अमेरिकाबाट १० हजार माइलको यात्रा गर्दै अष्ट्रेलिया पुगेर आफ्नो मालिकलाई भेटेको छ । कोभिड १९ का कारण यो जनावर पाँच महिनादेखि मालिकको परिवारसँग अलग्गिएको थियो । जुन समयमा कोरोना महामारी थियो, त्यो समयमा उसको मालिक विश्वयात्रामा थिए । तर लकडाउनका कारण मालिक अष्ट्रेलिया फर्किनु परेको थियो । अष्ट्रेलियामा लकडाउनको घोषणा हुँदा कुकुरको मालिकको परिवार अमेरिकाको साउथ केरोलिनामा थिए ।

अष्ट्रेलियामा घरपालुवा जनावरलाई आयातमा प्रतिबन्ध लगाएपछि मालिकको परिवारले कुकुरलाई अष्ट्रेलिया ल्याउन सकेनन् । उनीहरुले कुकुरको पालनपोषणका लागि आफ्ना साथीको जिम्मा लगाइदिए । मालिकले चाँडै नै कुकुरसँग भेट हुने आशाका साथ साथीको जिम्मा लगाएका थिए । तर सोचेजस्तो भएन । किनकी उसको साथीसँग यसअघि नै दुई कुकुर थिए । तेस्रो कुकुरलाई लामो समयसम्म राख्न उसलाई पनि उत्तिकै समस्या थियो । त्यही कारण उसले साथीको कुकुरको जिम्मेवारी सम्हाल्न एक विज्ञापन दिए । विज्ञापन देखेपछि तीनजनाले निवेदन दिएका थिए । यहीबीचमा वास्तविक मालिक अमेरिकामा फसेको कुकुरलाई अष्ट्रेलिया ल्याउन हरसम्भव प्रयास गरिरहेका थिए ।

कुकुर मालिकलाई अत्यावश्यक कागजात तयार पार्न र यात्राको मन्जुरीका लागि निकै संघर्ष गर्नुपर्यो । जसै उनीहरुले कागजात तयार पारे, त्यही समयमा उनीहरुको भेट कुकुरसँग भयो । तर विमान कम्पनीले हवाई यात्रामा कुकुरलाई लैजान नमिल्ने बतायो । मालिकले सीमित विकल्प र प्रतिबन्धका बीच सामाजिक सन्जालको सहारा लिए । सामाजिक सन्जालमा उनले अमेरिकामा फँसेको कुकुरका लािग सहयोगको गुहार मागे ।

पोस्ट पढेर कुकुरको उद्दार गर्ने एक संस्थाकी महिला सदस्य अगाडि आइन् । उनले कुकुरलाई आफ्नो सिटको मुनी राखेर कैयौं स्थानको हवाई यात्रा गराउँदै लसएन्जल्स ल्याइन् । त्यसपछि अकल्याण्ड जानका लागि कुकुरले एक्लै यात्रा गर्नुपर्यो । अकल्याण्डमा पुगेपछि कुकुरलाई एक रात क्वारेन्टाइनमा राखियो । त्यसपछि कुकुरलाई मेलबर्न पठाइयो । जहाँ राज्य सरकारको नियम अनुसार कुकुर १० क्वारेन्टाइनमा बस्यो । त्यसको भोलिपल्ट अर्थात ११ अगष्टमा कुकुरले आफ्नो मालिकसँग पुनः भेट्ने अवसर पायो ।