मुलान बहिस्कार अभियान तिब्र

लसएन्जल्स(एजेन्सी) । डिजनीको यो वर्षको बहुप्रतिक्षित फिल्म ‘मुलान’लाई बहिस्कार गर्ने अभियान चलेको छ । फिल्म बहिस्कारको कारण चीनको सिन्जियाङ क्षेत्रमा सुटिङ हुनु र सरकारलाई विशेष धन्यवाद दिनु रहेको छ । फिल्मको केही दृश्य सिन्जियाङ क्षेत्रमा छायांकन गरिएको छ । यो चिनियाँ स्वशासित क्षेत्र हो, जहाँ उइगर मुसलमानहरुको ठूलो संख्यालाई नजरबन्दमा राखिएको छ ।

एक महान चिनियाँ महिला योद्धाको कथा बताउने यो फिल्म रिलिज अघिदेखि नै विवादमा थियो । ‘मुलान’को विषयलाई लिएर पहिलोपटक राजनीतिक विवाद फिल्मकी अभिनेत्री लियू याइफीले गत वर्ष हङकङ प्रहरीको समर्थन गरेपछि शुरु भएको थियो । हङकङ प्रहरीले गत वर्ष त्यहाँ चलेको विरोध प्रदर्शन रोक्ने प्रयास गरिरहँदा अभिनेत्रीले त्यसको समर्थन गरेकी थिइन् ।

फिल्मलाई हालैमात्र ओटीटी प्लेटफर्ममा रिलिज गरिएको थियो । फिल्मको विशेष धन्यवादमा ओटीटी प्लेटफर्मले आठ सरकारप्रति आभार व्यक्त गरेपछि यसको नयाँ विवाद शुरु भएको हो । यो आठ सरकारहरुमा सिन्जियाङ पनि सामेल छ ।

सिन्जियाङ चीनको सुदुरपश्चिमको एक क्षेत्र हो, जहाँ उइगर मुसलमानहरुको घर छ । मुख्य रुपले मुस्लिम, तुर्क भाषी जातीय अल्पसंख्यक यो क्षेत्रमा चीनले तिब्र निगरानी र दमन गर्दै आएको छ । ‘मुलान’ वाल्ट डिज्नी पिक्चर्स प्रोडक्शन कम्पनीअन्तर्गत निकी कैरोले निर्देशन गरेको फिल्म हो ।