ब्रिटिशकालिन जेलमा रिया चक्रवर्ती

मुम्बई(एजेन्सी) । अभिनेता सुशांत सिंह राजपूत मामलामा लागुऔषधको विषय सार्वजनिक भएपछि अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको लागि भायखला जेलको न्यायिक हिरासतमा पठाइएको छ । रियालाई एनडीपीएस एक्टको धारा १५ र २० अनुसार गिरफ्तार गरिएपछि आगामी सेप्टेम्बर २२ सम्म उनी भायखला जेलमै हुनेछिन् । यो जेल महिलाका लागि बनाइएको ब्रिटिशकालीन जेल हो ।

यो जेलमा अन्डरवल्र्ड डन टाऊद इब्राहिमकी बहिनी हसीना पारकर, नेवी अफिसरको हत्याकी आरोपी मारिया सुसाइराज, लागुऔषधको सिण्डीकेट चलाउने बेबी पाटणकर, शीना बोरा मुद्धाकी आरोपी इंद्राणी मुखर्जीसहित कैयौं दक्षिण अफ्रिकन लागुऔषध आरोपी बसिसकेका छन् । इंद्राणी अहिले पनि यही जेलमा छिन् ।

यो जेलमा कुल १८ व्यारेक र ३ सय ५० महिला अन्डरट्रायल अपराधको क्षमता छ । यो जेलमा जेलरदेखि लिएर बाँकी जेल कर्मचारी महिला छन् । यहाँ १० प्रतिशत मात्र पुरुष जेल कर्मचारी छन् । एनसीबीले रियालाई मंगलबार गिरफ्तार गरेको थियो । तर एनडीपीएस अदालतमा भएको भर्चुअल सुनुवाई पछि रियालाई रातभर एनसीबीको कार्यालयमा बनाइएको जेलमै राखिएको थियो ।