जकार्ता(एजेन्सी) । कफिन अक्सर मृतकका लागि बनाइन्छ । तर इण्डोनेशियाको जकार्तामा यसको प्रयोग जीवित मानिसका लागि गरिन थालिएको छ । यहाँ फेस मास्क नलगाउने मानिसलाई कफिनमा सुताउने अभियान सुरु भएको छ । कोरोना संक्रमणमाथि रोकथामका लागि गरिएको विवादास्पद यो नियम निकै विचित्र किसिमको छ । तर सरकारले फेस मास्क नियमको उल्लंघन गर्नेका लागि मात्र यो नियम लागु हुने बताएको छ ।
इण्डोनेसियामा कफिनमा राखिने सजायको नियम आगामी केही दिनसम्म रहनेछ । सरकारले सुरक्षा उपाय प्रति जागरुकता फैलाउनका लागि यो कदम उठाइएको जनाएको छ ।
इण्डोनेसियाका स्थानीय सञ्चारमाध्यमले फेस मास्कको नियम उल्लंघन गर्नेलाई कफिनमा सुताउने, आर्थिक दण्ड गर्ने वा सामुदायिक सेवा गर्ने विकल्प दिइएको उल्लेख गरेका छन् । आर्थिक जरिवाना तिर्न नसक्ने या आनाकानी गर्नेले कफिनमा सुत्नुपर्ने वा सामुदायिक सेवा गर्नुपर्ने हुन्छ । सामुदायिक सेवामा एक घण्टा काम गर्नुपर्ने नियम बनाइएको छ ।
पूर्वी जकार्ताको पसर रेबोमा बिना मास्कका कैयौं मानिसलाई पक्राउ गरिएको थियो । बिहीबार उनीहरुलाई एक मिनेटसम्म कफिनमा राख्ने निर्णय गरियो । कफिनमा सुत्ने सजायको नियमको सोच पहिलोपटक आएको हो । जसका माध्यमबाट मानिसहरुमा फेस मास्कप्रति चासो बढाइएको छ ।