दर्शकविना कौन बनेगा करोडपति शुरु

मुम्बई(एजेन्सी) । ‘महिला तथा सज्जनवृन्द, तालीको गडगडाहटका साथ स्वागत गर्नुहोस्…’, ‘तालीहरु बजिरहनु पर्दछ…’, भारतीय चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को सेटमा यो वर्ष दर्शकको ताली बज्नेछैन । किनकी कोरोना महामारीका कारण बिग्रिएको अवस्थालाई मध्यनजर गर्दै यसपटक बिना दर्शक शो सञ्चालन हुनेछ ।

गत सोमबारबाट शोका होस्ट अमिताभ बच्चनले मुम्बईमा सुटिङ शुरु गरेका छन् । अमिताभले केही तस्बिर ट्वीट गर्दै ‘१२ औं पर्व, केबीसीएम, कौन बनेगा करोडपति, आरम्भ’ लेखेका छन् । कार्यक्रम निर्माताका अनुसार नयाँ मार्गनिर्देश अनुसार कार्यक्रममा प्रत्यक्ष दर्शकको सहभागिता हुने छैन । यसबाहेक सेटमा काम गर्ने जनशक्तिको संख्या पनि निकै कम गरिएको छ । केही दिन अघि अमिताभले सेटको तस्वीर शेयर गरेका थिए । जसमा निर्माण समूह पीपीई किटमा देखिएका थिए ।

‘कौन बनेगा करोडपति’को यो १२ औं सिजन हो र यसपटक यसको ट्यागलाइन ‘जो भी हो, सेटबेकका जवाब कमबेकसे दो’ राखिएको छ । केबीसी अभियानका निर्देशक नितेश तिवारीले यो वर्ष सबैका लागि भिन्न र चुनौतीपूर्ण समय रहेकाले यो वर्ष नयाँ कुरा सिक्न र कहिल्यै नसोचेको कुरा खोज्ने अवसर रहेको बताए ।

यो वर्ष केबीसीले प्रसारणको २० वर्ष पुरा गरेको छ । केबीसीको पहिलो सिजन सन् २००० जुलाई ३ शुरु भएको थियो । बेलायतको प्रख्यात शो ‘हु वान्ट्स टू बी ए मिलेनियर’को सफलतालाई हेर्दै स्टार प्लसले यसलाई भारतीय संस्करणमा ‘कौन बनेगा करोडपति’को नाम दिएको थियो ।