द्वन्द्व कलाकार पुजारीको सम्झना

काठमाडौं । हृदयघातका कारण निधन भएका द्वन्द्व कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेशसिंह सुुरेश पुजारीको १३ औँ दिनको पुण्य तिथीमा उनको स्मरण गरिएको छ । राजधानीको भोटेबहालस्थित सुरेशकै निवासमा सुरेश नानीकाजी डंगोल (नागे), भानु महर्जन, उत्तम नेवाः उमेश नेवाः राजिव मानन्धर (टार्जन), बाबु खड्गी, रोशन श्रेष्ठ, सुशिल खड्गी, अशोक खड्गी, नरेन्द्र केसी, राजुजंग थापा र राजेन्द्र खड्गी संलग्न राजेन्द्र खड्गी ग्रुपले श्रद्धाञ्जली कार्यक्रम गरी सुरेशको स्मरण गरेको हो ।

कार्यक्रममा अभिनेता रमेश उप्रेतीले २०४८ मा आफू ‘डेब्यु’ फिल्ममा सुरेशसँग काम गरेको स्मरण गर्दै सुरेशको निधनको खबर विश्वास गर्न नसकेको बताए । सुरेशका समकालीन द्वन्द कलाकार नानीकाजी डंगोल (नागे)ले सुरेश कुनै फिल्म काम गर्दा पैसा पुगेन भने आफैंले विना ब्याज पैसा दिएर सहयोग गर्ने गरेको बताए । पुजारीको गत भदौ २० गते राजधानीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। अस्पतालले पुजारीको हृदयघातका कारण निधन भएको जनाएको थियो।

फिल्म ‘नाता’बाट कलाकारीता सुरु गरेका सुरेशले द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको नेतृत्वमा रहेर करिव ३ सय फिल्ममा अभिनय गरेका थिए । उनले २०६५ सालमा फिल्म ‘रणसंग्राम’ निर्माण गरेका थिए भने २०७१ सालबाट व्यवसायिक रुपमा फिल्ममा प्रयोग हुने उपकरण उपलब्ध गराउँदै आएका थिए ।

कार्यक्रममा फिल्मकर्मीहरु राजेन्द्र खड्गी, धिरेन शाक्य, उमेश खड्का, राजकुमार राई, सुर्य थोकर, पुस्कर लामा, पुरुषोत्तम प्रधान, एनबी महर्जनलगायतको सहभागिता रहेको थियो । ५४ वर्षीय पुजारी झन्डै ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।