हराएको मोबाइलमा बाँदरको सेल्फी फोटो र भिडियो

क्वालालम्पुर(एजेन्सी) । मलेसियामा एक युवाको जीवनमा एउटा अनौठो घटना घटेको छ । २० वर्षे छात्र त्यो बेला छक्क परे, जुन समयमा उनको फोनमा बाँदरको धेरै सेल्फी भेटियो । सामाजिक सञ्जालमा बाँदरको सेल्फीवाला भिडियो निकै भाइरल भइरहेको छ । ज्याकरिड्स रोडजी नामका छात्र आफ्नो घरमा सुतिरहेका थिए । उनले फोनलाई आफ्नो छेउमै राखेका थिए । जब बिहान उठे, त्यो बेला मात्र आफूसँग फोन नभएको चाल पाए । उनले फोन चोरी भएको हो कि भन्ने लाग्यो ।

‘मोबाइल चोरिएको कुनै संकेत थिएन । मेरो दिमागमा केवल एउटा कुरा मात्र आयो कि यस्तो जादु कसरी भयो’, उनले भनेका छन् । रोडजीले आफ्नो फोन डिभाइसलाई ट्रयाक गर्दा उनले आफ्नो घर पछाडिको जंगलमा सिग्नल पाए । उनको मोबाइलमा उनका पिताले निरन्तर फोन गरिरहेका थिए । फोनको रिंगटोन जंगलबाट आइरहेको थियो । त्यही आवाजको माध्यमबाट पछ्याउदै जाँदा झाडी पछाडि उनले पाए ।

फोन भेटिएपछि उनका काकाले मजाकमै फोनमा चोरको तस्बिर भेटिन सक्ने बताएका थिए । त्यसपछि उनले जब मोबाइलको ग्यालरी खोले, त्यहाँ बाँदरहरुको कैयौं सेल्फी र भिडियो देखियो । एक भिडियोमा बाँदरले मोबाइल खाने प्रयास गरेको देख्न सकिन्छ ।

रोडजीले आफ्नो साथी र परिवारलाई ती तस्बिर देखाएका थिए । तर कसैले त्यो कुरालाई पत्याएनन् । उनले यो कुरालाई ट्वीटरमा शेयर गर्दै बाँदरको गतिविधिबारे लेखेका थिए । रोडजीले स्क्रिन रेकर्डिङको सेप्टेम्बर १३ मा ट्वीट गरेका थिए । त्यो भिडियो हालसम्म २५ लाख पटक गरिएको छ ।