जहाँ छोरीलाई विषालु सर्प दाइजो दिइन्छ

नयाँदिल्ली(एजेन्सी) । छोरीको विवाहमा पिताले आफ्नो खुशीले पैसादेखि लिएर गाडीसम्म उपहारका रुपमा दिन्छन् । तर के तपाईंले दाइजोमा विषालु सर्प दिइन्छ भनेर कहिले सुन्नुभएको छ ? भारतको मध्यप्रदेशमा एउटा यस्तै एउटा समुदाय छ, जहाँ दाइजोका रुपमा दुलहीलाई विषालु सर्प दिइन्छ ।

मध्य प्रदेशको गौरिया समुदायका मानिसहरु आफ्नो ज्वाइँलाई दाइजोमा १२ विषालु सर्प दिन्छन् । यो समुदायमा परम्परादेखि नै चलिआएको चलन हो । यो समुदायमा यदी कोही व्यक्तिले आफ्नो छोरीलाई विवाहमा सर्प दिएन भने उसको छोरीको विवाह सम्बन्ध टुट्ने विश्वास छ । छोरीको विवाह मिती तय हुनासाथ छोरीका पिता ज्वाइँलाई उपहारका लागि सर्प समाउने काम शुरु गर्छन् । यी सर्पमा गोमनजस्तो विषालु सर्प पनि हुन्छ । यहाँका बालबालिकालाई पनि विषालु सर्पसँग डर लाग्दैन । त्यहीकारण उनीहरु त्यस्ता सर्पसँग आरामले खेलिरहेका हुन्छन् ।

यो समुदायका मानिसहरुको मुख्य पेशा नै सर्प समात्ने हो । समातिएका सर्प अन्य समुदायका मानिसलाई देखाएर उनीहरु पैसा कमाउछन् । त्यहीकारण उनीहरु ज्वाइँलाई दाइजोमा सर्प दिन्छन् ताकि ज्वाइँले पनि उनीहरुको जस्तै सर्प देखाएर पैसा कमाओस् र परिवार पालोस् भन्ने चाहना हुन्छ ।  यो समुदायमा सर्पलाई सुरक्षित राख्नका लागि कडा नियम बनाइएको छ । यदी सर्पलाई उनीहरुले कुटेर मारे भने पुरै परिवारको टाउको मुण्डन गर्नुपर्छ । साथै समुदायका मानिसका लागि भोज पनि गर्नुपर्छ ।