जोडी बाँध्दै ब्राड र जेनिफर

लसएन्जल्स(एजेन्सी) । पूर्व प्रेम जोडी ब्राड पिट र जेनिफर एनिस्टन पुनः दर्शकमाझ जोडीका रुपमा आउने भएका छन् । उनीहरु चाँडै नै सन् १९८२ मा रिलिज फिल्म ‘फास्ट टाइम्स एट रिडोंटम हाई’को रिमेकमा देखिन लागेका हुन् । हालै भएको भर्चुअल बैठकमा यो जोडीले भेट गरेका हुन् । भेटका समयमा उनीहरुले एकअर्कालाई फ्लर्ट गरेका थिए ।

उनीहरु भेटमा निकै खुसी देखिन्थे । यो वर्षको शुरुवातमै पिट र जेनिफर स्क्रिन एक्टर्स गिल्ड अवार्डस्मा देखिएका थिए । ब्राडले अवार्ड पाउदा जेनिफर खुशीले ताली बजाइरहेकी थिइन् । तर जेनिफरले अवार्ड पाउदा ब्राड स्टेजको पछाडि थिए ।

अभिनेत्री एन्जेलिना जोलीसँगको डिभोर्स पछि ब्राड सिंगल नै छन् । जेनिफरको पनि डिभोर्स भएपछि उनी एक्लै छिन् । त्यहीकारण उनीहरु पछिल्ला समयमा नजिकिन थालेको धेरैको बुझाई छ ।

एनिस्टनको ५० औं जन्मदिनको पार्टीमा पिट पनि सहभागी थिए । पिट र एनिस्टन सन् २००० मा विवाह गरे पनि सन् २००५ मा अलग्गिएका थिए ।