दीपिकाको कारण रोकियो सुटिङ

मुम्बई(एजेन्सी) । लागुऔषधको मुद्धामा च्याट भाइरल भएपछि अभिनेत्री दीपिका पादुकोणमाथि तनाव बढ्दै गएको छ । हालैमात्र उनी करण जोहारको प्रोडक्सनवाला अपकमिङ फिल्मको सुटिङका लागि गोवा पुगेकी थिइन् । तर अहिले त्यो सुटिङ रोकिएको छ । दीपिकाले गत हप्ता मात्र सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेका साथ सुटिङ शुरु गरेकी थिइन् ।

यो फिल्मको निर्देशन शकुन बत्राले गरिरहेका छन् । केही दिन अघि करन पनि आमा र छोराछोरीका साथ गोवा गएका थिए । लागुऔषध बारेको च्याट सार्वजनिक भएपछि दीपिका चुपचाप छिन् । यो फिल्मको सुटिङ हिजो बेलुकासम्म भएको थियो । निर्माताले बुधबार बिहान सुटिङ प्याकअप गरेका थिए । सुटिङलाई नजिकबाट नियालिरहेका प्रत्यक्षदर्शीका अनुसार निर्माताले हिजो बेलुका ७ बजेसम्म सुटिङ गरेका थिए । तर बिहान भने सुटिङस्थलमा कोही देखिएनन् ।

गोवामा सुटिङका लागि १५ दिन अघि नै सेट तयार पारिएको थियो । दीपिका सेटमा ५–६ पटक देखिएकी थिइन् । अभिनेता सिद्धान्तले एक दिन अघि मात्र लोकेशनको भिडियो सामाजिक सन्जालमा राखेका थिए । एनसीबीले रियाको ट्यालेन्ट मेनेजर जया साहको वाट्सएप च्याटमा पहुँच पुर्याएपछि दीपिकाको लागुऔषध सम्बन्धबारे खुलासा भएको थियो । च्याटमा दीपिकाले करिश्मा प्रकाशसँग ‘माल’का बारेमा सोधखोज गरेकी थिइन् ।