नेपाललाई भारतको १ अर्ब ५४ करोड आर्थिक सहयोग

काठमाडौं । भारतले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप नेपाललाई एक अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेको छ । भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई चेक हस्तान्तरण गरेकी हुन् ।

भारतले आवास परियोजनाअन्तर्गत १ सय ५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारतले ५० मिलियन अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारतले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।