प्रभावशाली महिलामा ८२ वर्षीया बिल्कीस

नयाँदिल्ली(एजेन्सी) । विवादास्पद नागरिकता कानूनका विरुद्धमा भारतमा चलेको आन्दोलनमा सहभागी एक ८२ वर्षीया वृद्धा बिल्कीस बानो टाइम पत्रिकाको सय प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन् । यो सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड अभिनेता आयुष्मान खुराना पनि परेका छन् ।

वार्षिक रुपमा आउने यो सूचीमा आफ्नो कामका कारण समाजमा पार्ने सकारात्मक प्रभाव पार्ने पायोनियर, नेतृत्व र आइकन छनोट हुन्छन् । ‘दादी’का रुपमा परिचित बिल्किसको जीवनी भारतीय पत्रकार तथा लेखक राना आयुबले तयार पारेकी थिइन् । उनलाई आयुबले सीमान्तकृत समुदायको आवाजका रुपमा चित्रण गरेका छन् । ‘यो विभेदकारी कानूनविरुद्ध देशव्यापी शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारर्की तथा विद्यार्थी नेतालाई बिल्किसले आशा र शक्ति दिएकी छन्’, अयुबले लेखेकी छन् । टाइम्सको घोषणा पछि ट्वीटरमा शाहीनबाग ह्यासटाग(जहाँ आन्दोलन भएको थियो) र बिल्किस ह्यासट्याग ट्वीटरको टप ट्रेन्डिङमा परेको छ ।

मुस्लिम समुदायको बसोबास रहेको शाहीनबागमा चलेको लामो शान्तिपूर्ण आन्दोलनले धेरैको ध्यानाकर्षण गराएको थियो । धेरै संख्यामा मुस्लिम महिलाहरु बाहिर आएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुको आन्दोलनमा विभिन्न धर्म सम्प्रदायका मानिसहरुले पनि ऐक्यबद्धता जनाएका थिए ।