सुशान्तका प्रशंसकले चन्द्रमामा किने जग्गा

लाहोर(एजेन्सी) । पाकिस्तानका एक युवकले भारतीय दिवंगत अभिनेता सुशान्त सिंह राजपूतबाट प्रेरित भएर चन्द्रमामा जमिन किनेका छन् । यसको खुलासा उनले एक पाकिस्तानी च्यानलमा गरेका हुन् । योसँग जोडिएको एक भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।

पाकिस्तानको रावलपिण्डीका सोहेब अहमदले चन्द्रमामा आफ्नो पत्नीका लागि जमिनको दर्ता गराएका छन् । उनले ‘सी अफ वेपर’ नामक स्थानमा जमिनको दर्ता गराएका छन् । यसका लागि पाकिस्तानी युवकसँग सम्पत्तिको दस्तावेज पनि बनिसकेको छ । उनले इन्टरनेसनल लूनर लेण्ड रजिष्ट्रीबाट ४५ अमेरिकी डलरमा यो भूमिको दर्ता गराएका हुन् ।

‘म बलिउड अभिनेता सुशान्त सिंह राजपूतबाट निकै प्रभावित छु । त्यहीकारण मैले श्रीमतिलाई विवाहको उपचारका रुपमा चन्द्रमा जमिन किनेको हुँ’, उनले भनेका छन् । उनकी पत्नी मदिहाले यो विषयमा आफूले पतिका साथीहरुबाट थाहा पाउदा विश्वास नलागेको बताइन् । ‘पहिला त सबैले यो मजाक होला भन्ने सोचेका थिए । तर उहाँले आफ्नो साथीहरुलाई दस्तावेज देखाएपछि मात्र विश्वास भयो’, उनले भनेकी छन् ।

बलिउड अभिनेता सुशान्तले रहस्यमयी तरिकाले मुम्बईको आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए । यो विषयमा अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ । अभिनेता सुशान्तले चन्द्रमामा आफ्ना लागि केही हिस्सा जमिन किनेका थिए । जसबाट प्रेरित भएर सोहेबले आफ्नो पत्नीका लागि चन्द्रमामा जमिन किनेका हुन् । सुशान्तका अलावा टम क्रुज, शाहरुख खान, जोन ट्रावोल्टा, निकोल किडमेन जस्ता स्टारले पनि चन्द्रमामा जमिन दर्ता गराएका छन् ।