जसले निर्देशकलाई जीवनसाथी बनाए

मुम्बई(एजेन्सी) । फिल्ममा अभिनय गर्ने अभिनेता अभिनेत्रीहरु प्रायः सँगै काम गर्दा एकअर्काको प्रेममा पर्दछन् र सँगै जिउने मर्ने कसम खान्छन् । तर बलिउडमा यस्ता केही अभिनेत्री छन्, जो फिल्ममा काम गरिरहँदा अभिनेता नभई निर्देशकको हृदयमा बस्न सफल भए ।

निर्देशक गोल्डी र अभिनेत्री सोनाली वेन्द्रेको भेट फिल्म ‘नाराज’को सुटिङमा भएको थियो । त्यहीको भेटले उनीहरु प्रेममा परे । भलै सोनालीले पहिला गोल्डीको प्रस्तावलाई अस्वीकार गरेका थिए । तर गोल्डीको प्रेम साँचो थियो । गोल्डीको प्रेममा भरोसा भएपछि उनीहरुले सन् २००२ को नोभेम्बर १२ मा लगनगाँठो कसे ।

अभिनेत्री उदिता गोस्वामी र निर्देशक मोहित सुरीको नाम पनि यो सुचीमा पर्दछ । यो जोडीले सन् २०१३ को जनवरी २९ मा विवाह गरे । फिल्मकै छायांकनका क्रममा मौलाएको उनीहरुको प्रेमले विवाहमा पूर्णता पाएको थियो । यो जोडी अहिले खुशीसाथ जिन्दगी बिताइरहेका छन् ।

अभिनेत्री रानी मुखर्जी र निर्माता आदित्य चोपडाले सन् २०१४ मा इटलीमा सात फेरा लगाए । उनीहरु लामो समय एकअर्काको प्रेम सम्बन्धमा थिए । उनीहरुको एक छोरी आदिरा छिन् ।

निर्देशक अनुराग कश्यप र अभिनेत्री कल्की कोचलिन फिल्म ‘देव डी’मा काम गरिरहँदा नजिकिए । अनुरागले कल्कीसँग दोस्रो विवाह गरेका हुन् । दुई वर्षको लिभिङ टुगेदर पछि सन् २०११ अप्रिल ३० मा उनीहरुले विवाह गरे । तर उनीहरुको विवाह लामो समय टिक्न सकेन । विवाह गरेको केही समयमा नै उनीहरु अलग्गिए ।

निर्देशक प्रकाश झा र अभिनेत्री दीप्ति नवलले पनि लामो समयको प्रेमलाई विवाहमा पूर्णता दिए । उनीहरुको विवाह पनि सन् २००२ पछि टुंगियो ।