केशवको परिवारलाई ३४ लाख हस्तान्तरण

काठमाडौं । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं कलाकार तथा निर्माता केशव भट्टराईको परिवारलाई स्वर्गीय केशव भट्टराई परिवार सहयोग समितिले ३४ लाख रुपैंयाँ सहयोग हस्तान्तरण गरेको छ । बोर्डको हलमा बुधबार एक कार्यक्रमका बीच समितिका संयोजक तथा निर्माता राजकुमार राईले भट्टराईकी पत्नी नीता भट्टराईलाई उक्त रकम हस्तान्तरण गरे ।

समितिले सहयोग रकम संकलन गर्न कलाकार तथा फिल्मकर्मीलाई आह्वान गरेको थियो । विदेशमा रहेका फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, सुरेशदर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, रिचा घिमिरे, दिलिप रायमाझी, जल शाह, सारंगा श्रेष्ठ, राजबल्लभ कोइराला, भानु प्रताप, जीवन लुँइटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामालगायतका सयौं कलाकारहरुले आर्थिक सहयोग गरेका थिए ।

यस्तै नेपालबाट राजकुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जबरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझा, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारीलगायतले सहयोग गरेका थिए ।

भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, ब्रासलेट, सो सिम्पल, यात्रालगायतका फिल्म निर्माण गरेका थिए । विद्युत प्राधिकरणको जागिरबाट राजिनामा दिएर चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भट्टराईको ६ महिना नबित्दै निधन भएको थियो । त्यसपछि परिवारमा देखिएको विविध समस्यालाई समाधान गर्न सहयोग पुग्ने गरि राजकुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपाश्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, बसुन्धरा भुषाल, निकिता पौडेल, गिरिश शर्मालगायत सदस्यहरु रहने गरि सहयोग समिति गठन गरिएको थियो ।