शाहरुखलाई पिट्दा भिषा अस्वीकार

मुम्बई(एजेन्सी) । बलिउडका ब्याडमेन गुलशन ग्रोबर फिल्ममा जति क्रुर भए पनि वास्तविक जीवनमा उनी कूल र सकारात्मक छन् । अधिकांश फिल्ममा भिलेन चरित्रमा देखिएकै कारण वास्तविक जीवनमा पनि उनी भिलेन जस्तै छन् कि भन्ने भ्रम आम मानिसमा छ । त्यहीकारण उनी कैयौं पटक अनेक समस्यामा परिसकेका छन् । एउटा यस्तै किस्सा गुलशनले एक टेलिभिजन रियालिटी शोमा शेयर गरेका छन् । उनले कसरी शाहरुख खानका कारण एयरपोर्टमा एक अधिकारीले भिषा दिन अस्वीकार गरे भन्ने किस्सा सुनाएका हुन् ।

हालैमात्र गुलशन एक डान्स रियालिटी शोमा पुगेका थिए । यो शोमा आफूलाई शाहरुख खानकै कारण मोरक्कन अधिकारीहरुले भिषा नदिएको खुलाए । ‘मैले महिला अधिकृतलाई ‘के मैले एक दिनका लागि भिषा पाउछु । मेरो फ्लाइट बेलुकाको छ, त्यसकारण म यो शहरमा घुम्न चाहन्छु । यो मेरो टिकट’ भनेर दिएँ । त्यसपछि उनले ‘म तपाईंलाई भिषा दिन्नँ’ भन्नुभयो । त्यसपछि मैले ‘किन’ भनेर सोध्दा उहाँले ‘किनकी तपाईंले शाहरुख खानलाई पिट्नुभयो । मलाई तपाईं मनपर्दैन’ भन्नुभयो’, उनले भने ।

आफूले ती अधिकारीलाई शाहरुख खान मेरो साथी र भाई भए पनि वास्तविक जीवनमा उसलाई नपिटेको बताएको खुलाए । गुलशनले शारुखका साथ कैयौं फिल्ममा काम गरेका छन् । जसमा ‘डुप्लीकेट’, ‘यश बोस’ र ‘राम जाने’लगायत छन् ।