मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री कंगना रनावत अन्य कलाकारसँग झगडा गर्न माहिर छिन् । उनी आफ्नो अनौठो बयानका कारण चर्चामा आइरहन्छिन् । सामाजिक सन्जालमा आउनासाथ उनी कुनै न कुनै कलाकार प्रति आफ्नो रिस पोखिहाल्छिन् । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर उनले इशारै इशारामा अर्की अभिनेत्री दीपिका पादुकोण माथि हमला गरिन् । उनले दीपिकाको नाम नलिईकन डिप्रेसनको दोकान चलाउने नै भनिन् ।
‘मैले जजमेन्टल है क्या मेन्टल हेल्थ प्रति मानिसलाई जागरुकता फैलाउनका लागि बनाएको थिएँ । तर यसलाई कोर्टमा पठाइयो । डिप्रेसनको दोकानका कारण मैले फिल्मको नाम बदल्नुपर्यो’, उनले भनेकी छन् । सन् २०१९ मा कंगनाको फिल्म ‘मेन्टल है क्या’को नाममा विवाद भएको थियो । दीपिकाले पनि यो नाममा आपत्ति जनाएका थिइन् । त्यसपछि फिल्मको नाम ‘जजमेन्टल हे क्या’ राखियो ।
यही दिनदेखि कंगना र दीपिकाबीच नयाँ खटपट शुरु भएको हो । त्यसो त यी दुई बीच झगडा भएको यो पहिलोपटक भने होइन । यसअघि उनीहरुको धेरैपटक यस्तो झगडा भइसकेको छ । केही समय अघि मात्र नारकोटिक्स कन्ट्रोल बोर्डले लागुऔषध मामलामा दीपिकालाई सोधपुछका लागि बोलाएको थियो । त्यो बेला कंगनाले ट्वीटरमा ‘डिप्रेसन नशालु औषधीको कारणले नै हुने गर्छ । तथाकथित हाइ सोसाइटीका धनी स्टार सन्तान, जो क्लासी हुने दाबी गर्छ र राम्रो वातावरण पाउछ, आफ्नो मेनेजरसँग सोध्छ ‘माल छ’लेखेकी थिइन् ।
कंगनाको यो ट्वीटमा विवाद भएको थियो । जेएनयू स्टुडेण्ट यूनियनका पूर्व भाइस प्रेसिडेन्ट शेहला राशिदले उनीमाथि डिप्रेसनसँग जुधिरहेका व्यक्तिको अपमान गरेको आरोप लगाएका थिए । यसमाथि सफाई दिँदै कंगनाले ‘मैले दीपिकाको मानसिक बिरामीवाला मुद्धाका बारेमा मात्र बोलेको हुँ । जब तपाईं डिप्रेसनमा हुनुहुन्छ, त्यो बेला तपाईं दिमागसँग खेल्नुहुन्नँ । लागुऔषध लिन थाल्नु हुन्छ, जसरी उसले लियो’ भन्दै ट्वीट गरेकी थिइन् ।
यसअघि कंगनाले दीपिकालाई डिप्रेसनको धन्धा चलाउने भन्दै आलोचना गरेकी थिइन् । केही वर्ष अघि दीपिकाले एक अन्तरवार्तामा एक समय आफू पनि डिप्रेसनसँग बाँचेको बताएपछि कंगनाले उनीमाथि व्यंग्य गरेकी थिइन् । ‘यो कस्तो डिप्रेसन हो । म डिप्रेसनसँग जुध्ने व्यक्तिहरुलाई जान्दछु । उनीहरुको जिन्दगी ठप्प हुन्छ । काम गर्न समस्या हुन्छ । व्यावसायिक जीवनमा काम गर्न दिक्क लाग्छ । तर दीपिकाको कस्तो डिप्रेसन हो ? उनले काम गरेकी छन् । विवाह गरेकी छन् । उनले डिप्रेसनलाई व्यापार बनाएकी छन्’, कंगनाले भनेकी थिइन् ।
दीपिकाले सन् २०१५ मा लिव लभ लाफ फाउण्डेसनको स्थापना गरेकी थिइन् । जुन संस्थाले डिप्रेसनसँग जुधिरहेको व्यक्तिहरुका लागि काम गर्छ ।