विष्णु माझीले बढाइन् पारिश्रमिक

काठमाडौं । नेपाली गीतसंगीतकै क्षेत्रकी सर्वाधिक महंगो पारिश्रमिक लिने गायिका बिष्णु माझीले ‘मायालु तिमी मुटुमा छौं’ बोलको गीतमा लागि २ लाख पारिश्रमिक लिएकी छिन् । लामो समयसम्म १ लाख पारिश्रमिकमा काम गर्दै आएकी गायिका माझीले यस गीतका लागि २ लाख पारिश्रमिक लिएकी हुन् ।

गीतका गायक राजन गुरुङले पछिल्लो समय गायिका माझीले आफ्नो पारिश्रमिक बढाएका कारण आफूहरुले २ लाख पारिश्रमिक तिरेको बताए । ‘बजारमा उहाँको अहिलेको पारिश्रमिक २ लाख रहेछ, हामीले पनि सोहि मुल्य तिरेर गीत गाउन लगाएका हौं’, गायक गुरुङले भने, ‘बजारको माग र उहाँको स्वरको क्वालिटी अनुसार त्यो पारिश्रमिक हामीलाई मन्जुर छ ।’

बुधबार सार्वजनिक भएको ‘मायालु तिमी मुटुमा छौं’ गीतका संगीतकार बसन्त थापाले यस अघिको उनको सर्वाधिक हिट गीत ‘सालको पात टपरी हुनी’मा १ लाख पारिश्रमिक दिएको र अहिले भने दुईलाख तिरेको बताए । संगीतकार बसन्त भन्छन्, ‘त्यो समयमा उहाँको रेट १ लाख थियो अहिले दोब्बर भएको छ तै पनि उहाँलाई गीतको अफर आइरहेका छन् । सायद बजारमा उहाँको माग भएकै कारण गीत अफर भइरहेका छन् ।’

यसै गीतका एरेन्जर आशिष अभिरलले पनि बजारमा बिष्णु माझिका गीतको माग भएकै कारण उहाँको पारिश्रमिक बढेको तर्क राखे । ‘अन्य गायिकाले २ लाख माग्यो भने कसले दिने ? जसको गीत चलेका छन् । उसले डिमाण्ड गर्न मिल्छ । आज पनि उहाँलाई २ लाख तिर्न तयार छन् ।’ गायिका बिष्णु माफि अहिलेसम्म सार्वजनिक भएकी छैनिन् । उनको इन्टरनेटमा पनि एक तस्बिर भन्दा अन्य कुनैपनि सामाग्री उपलब्ध छैन । उनले आफू स्व इच्छाले सार्वजनिक नभएको बताउँदै आएकी छिन् ।
गीतको भिडियोमा गायक राजन गुरुङ, संगीतकार बसन्त थापासँगै रजनी गुरुङ र सुमित्रा तामाङले नृत्य गरेका छन् । सुनिल क्षेत्रीको निर्देशन रहेको यो गीत दुर्गा पौडेलले खिचेका हुन् भने नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।