आर्याको हाम्रो धर्तीमा शिल्पाको राष्ट्रप्रेम

काठमाडौं । दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका दृष्टिले प्रसिद्ध छ । त्यही मानुङ डाँडाको मनोरम स्थानमा छायांकन भएको फिल्म ‘आर्या’ को गीत ‘हाम्रो धर्ती’ भाइटीकाको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण भएको फिल्म ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो ।

गीतमा गायिका मेलिना राइको स्वर, कविराज गहतराजको नृत्य निर्देशन, राम सिटौलाको संगीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको फिल्ममा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झन्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवत यो नै पहिलो पटक हो । झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र रास्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण सन्देश दिने यो गीतले नेपालको आफ्नै गौरव गाथा बोलेको छ ।

मानुङको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरु फिचर्ड छन् । सार्वजनिक गीतले अहिलेको विश्व परिवेशमा रास्ट्रभक्ति, स्वतन्त्रता, नेपाल र नेपालको अभिभाज्य मन मुटु र झन्डाको महिमा अभिव्यक्त गरिएको छ ।

दिब्यराज सुवेदीको छायांकन गरेको फिल्ममा राम सिटौला र शशीविक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा शिल्पा पोखरेल,अनुपविक्रम शाही, प्रकाश शाह, रवि गिरि, सुशील पोखरेल, गीता अधिकारीलगायतको अभिनय रहेको छ ।