मुम्बई(एजेन्सी) । ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतिक्षित फिल्ममा पर्दछ । जुनियर एनटीआर र रामचरण जस्ता स्टार कलाकारको अभिनय रहेको यो फिल्ममा बलिउडबाट अजय देवगन र आलिया भट्ट पनि देखिँदैछन् । कोरोना महामारीका कारण ७ महिनादेखि रोकिएको फिल्मको सुटिङ पनि गत अक्टोबरबाट शुरु भइसकेको छ ।
यो फिल्मको बारेमा एउटा नयाँ समाचार बाहिर आएको छ । समाचार यो हो कि फिल्ममा आमिर खान पनि जोडिँदैछन् । तर उनको अभिनय भने हुनेछैन । ‘आमिर खानले फिल्ममा न्यारेटरको काम गर्नेछन् । उनले फिल्मका प्रमुख कलाकारलाई आम दर्शकमाझ चिनाउने काम गर्नेछन् । यो कामका लागि उनले मौखिक सहमति पनि जनाइसकेका छन् । उनको भ्वाइस ओभरलाई फिल्ममा मात्र होइन्, ट्रेलरमा पनि राखिनेछ ।’ फिल्म निकट स्रोतले भन्यो ।
आमिर विगत १० वर्षदेखि महाभारत बनाउने तयारीमा जुटिरहेका छन् । त्यसका लागि उनले एसएस राजामौली र उनका पिता केभी विजयेन्द्र प्रसादसँग पटकथा र पौराणिक कथालाई ठूलो पर्दामा ल्याउनका लागि सल्लाह गरिरहेका छन् ।