टिकटक गर्लसँग संगीतकार दीपक रोमान्टिक

काठमाडौं । गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा संगीतकार शर्मा र टिकटक गर्ल उषा उप्रेती फिचर्ड छन् । भिडियोमा बैंशालु उमेरमा युवायुवतीले जानेर वा नजानेर देखादेख र हेराहेरमा नै गहिरो प्रेममा डुबेको र देखावटी माया भन्दा पनि चोखो माया लगाउने जोडीको कथालाई देखाइएको छ ।

भिडियोमा सुन्दरी उषाले सोझो जस्तो देखिने दीपकलाई भित्र भित्रै मन पराइरहेकी हुन्छिन् । तर उषाले दीपकले आधुनिक शैली भन्दा सामान्य युवककै रुपमा आफुलाई चाहेको थाहा पाएपछिको प्रेमको रमाइलो पललाई निर्देशक युवराज वाइवाले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

गीतमा एरेन्ज नरेन्द्र बियोगीको रहेको छ भने छायांकन निशल पौडेलले गरेका छन् । विकाश धमलाको सम्पादन रहेको गीतको भिडियो गायक पुरीकै च्यानल म्यूजिक जक्सनबाट बजारमा आएको हो । गायक पुरीले यसअघि ‘जाउ न माया भागेर’, ‘हिमाल हल्लाउन सक्छु’लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।