आशिकी अभिनेता राहुल आइसीयूमा

मुम्बई(एजेन्सी) । सन् १९९० को म्यूजिकल हिट फिल्म ‘आशिकी’का अभिनेता राहुल रोयको मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ५२ वर्षका अभिनेता कारगिलमा गलवान बेलीमा आधारित फिल्म ‘एलएसी’को सुटिङमा व्यस्त भइरहँदा अचानक ब्रेन स्ट्रोक भएपछि उनलाई श्रीनगर अस्पताल पुर्याइएको थियो । त्यसपछि अस्पतालको सुझाव अनुसार उनलाई मुम्बईस्थित नानावती अस्पतालमा ल्याएर आइसीयूमा भर्ना गरिएको हो ।

राहुलसँग ‘एलएसी’को सुटिङमा रहेका अभिनेता निशान्त सिंह मलकानीका अनुसार केही दिन अघि सुटिङमा राहुलले सही किसिमले बोल्न सकिरहेका थिएनन् । स्थिति खराब हुनसक्ने आँकलन भएपछि दुई दिन अघि नै उनलाई मिलिट्री अस्पताल पुर्याइएको थियो । कारगिलबाट उनलाई श्रीनगर र त्यहाँबाट मुम्बई ल्याइएको थियो ।

‘समय तालिका अनुसार राहुलले ४, ५ दिन सुटिङ गर्नुपर्ने थियो । तर कारगिलको मौसम अचानक बिग्रियो । हामी यहाँ माइनस १७ डिग्रीको मौसममा सुटिङ गरिरहेका छौं । त्यसकारण सुटिङको तालिमका बिग्रिएको छ । चारदिनको ठाउँमा राहुलको सुटिङ १० दिनसम्म चल्न सक्छ । मौसमकै कारण राहुलको स्वास्थ्य बिग्रियो । उनको ब्रेनको सर्जरी गरिएको छ’, अभिनेता निशान्तले भने ।

तीन दशकअघि राहुलले सन् १९९० मा रिलिज फिल्म ‘आशिकी’बाट बलिउडमा डेब्यू गरेका थिए । जसमा उनको अपोजिटमा अनु अग्रवाल थिइन् । त्यसपछि ‘जुनून’ (१९९२), ‘फिर तेरी कहानी याद आई’ (१९९३), ‘नसीब’ (१९९७), ‘एलान’ (२०११) र ‘कैबरे’ (२०१९) जस्ता फिल्ममा काम गरे । उनी बिग बोसको पहिलो सिजन २००७ को विजेता पनि हुन् ।