कथाकुथुङ्ग्री च्याम्पियन शुरु

काठमाडौं । मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो । अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीहरुबीच प्रतिस्पर्धा गराइने कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फारम भरि पठाउने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवम् प्रमुख अतिथि दक्ष पौडेलले औपचारिकरुपमा घोषणा गरेका हुन् । पौडेलले देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नकालागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नाट्य निर्देशक विमल सुवेदीले अहिलेको अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ समयको माग भएको बताउदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कला प्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।  पछिल्लो समय विश्वभर कोभिड –१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिहरुलाई स्टोरी टेलिङ (कथावाचन) मार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए ।

कथा कुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेहरुलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए । उनले कोरोना कालमा बन्द रहेको रंगमञ्च, चलचित्र क्षेत्रकालागि वैकल्पिक मञ्चकोरुपमा कथा कुथुङ्ग्री च्याम्पियन शुरु भएको बताए ।
विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट सहभागीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ । प्रथम हुनेलाई रु.दुई लाख, द्वितीयकालागि रु. एक लाख पचास हजार र तृतीय हुनेलाई रु. पचास हजार नगद सहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिए ।

स कार्यक्रम सफल बनाउनको लागि विभिन्न नाट्य समूह, सहकारी संघ संस्था, शैक्षिक संघसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताए । अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा शुरु हने उक्त नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनमा निर्णायक मण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह छन् ।