डिजिटल अडिसनमा भ्वाइस अफ नेपाल

काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी सोको रुपमा स्थापित भइसकेको द भ्वाइस अफ नेपाल हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी सोका सवैजसो रेकर्ड तोड्दै द भ्वाइस अफ नेपाल–२ करोडौं नेपालीको मनमा बस्न सफल भएको थियो ।

बहुप्रतिक्षित यो सोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु भएको छ । द भ्वाइस अफ नेपालको प्लेटमर्फमार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरुले द अडिसनमा सहभागी हुन पाउने छन् ।  १६ बर्ष उमेर पुगेका युवादेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आबेदन गर्न सकिने छ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।  द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ । प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।

सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् ।  यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताउँछन् ।

द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ ।