रक्तचाप बढेपछि रजनीकान्त अस्पताल भर्ना

मुम्बई(एजेन्सी) । भारतीय फिल्मका सुपरस्टार रजनीकान्त उच्च रक्तचाप सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन् । हालैमात्र रजनीकान्त छायांकनरत एक फिल्मका कैयौं सदस्यलाई कोभिड–१९ को संक्रमण भएको थियो । यद्यपि उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै सुपरस्टारको स्वास्थ्य अवस्थाबारे अपडेट गराएको छ ।

रजनीकान्त हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका छन् । अस्पतालको प्रेस विज्ञप्तीलाई आन्ध्र बक्स अफिसको एकाउन्टबाट ट्वीटरमा साझा गरिएको छ । जसमा भनिएको छ, ‘रजनीकान्त आज २५ डिसेम्बर बिहान अस्पताल भर्ना भएका छन् । पछिल्लो १० दिनदेखि उनी हैदराबादमा एक फिल्मको सुटिङ गरिरहेका थिए । सेटमा केही व्यक्तिलाई कोभिड–१९ को टेस्ट पोजेटिभ आएको थियो । २२ डिसेम्बरमा रजनीकान्तलाई कोभिड–१९ टेस्ट गरिएको थियो, त्यसको रिपोर्ट नेगेटिभ आयो । त्यही समयदेखि उनी आफैं आइसोलेट थिए र अहिले उनी कडा निगरानीमा थिए ।’

उनलाई कोभिड–१९ संक्रमण नभए पनि उनको उच्च रक्तचाप निकै बढेको छ । त्यहीकारण पनि उनको उच्च रक्तचाप परीक्षणसहित अन्य स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको हो । उनको उच्च रक्तचाप सामान्य अवस्थामा नआउन्जेलसम्म उनी अस्पतालमै रहने अस्पतालले जनाएको छ । उच्च रक्तचापको उतारचढावबाहेक उनलाई कुनै किसिमको दोस्रो लक्षण नदेखिएको अस्पतालको भनाइ छ ।