तीन जुङ्गे खोज्दै पुरन

काठमाडौं । हाँस्य कलाकार, निर्माता तथा निर्देशक पुरन थापाले नयाँ फिल्म ‘तीन जुङ्गे’ निर्माण गर्ने भएका छन् । उनले आफ्नो जन्मदिन (पुस १२) को अबसर पारेर आइतबार कमेडी जनराको ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् ।

यसअघि ‘पिरिम पर्या छन्,’ ‘कान्छी मट्याङ ट्याङ’,‘फेरि–फेरी’ लगायतका कमेडी फिल्म तथा ‘यस्तै छ यहाँको चुरीफुरी’ लगायतका थुप्रै टेलिश्रृंखला निर्माण तथा निर्देशन गरिसकेका थापाले ‘तीन जुङ्गे’ को छायांकन माघ तेश्रो साताबाट सुरु हुने जानकारी दिएका छन् ।

बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारी निर्माता रहेको ‘तीन जुङ्गे’ मा प्रमुख तीन जुङ्गे को–को हुने छन् भन्ने चाहिँ अहिले खुलाइएको छैन । ती तीन जुङ्गेको साथमा फिल्ममा निर्देशक थापा स्वयम्, लय संग्रौला, दमन रुपाखेति, निक शर्मा, सुमीत्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, ललीतसिंह साउद, बिकल उप्रेती, सविता दनाइ, शिखा सुवेदी, छायाँ भुजेल, सुपा खनाललगायतका कलाकारको अभिनय रहनेछ ।

प्रमुख नायक–नायिका साथै केही प्राबिधिकको छ्टिटै टुंगो लगाइने फिल्ममा विमल ढकालको छायांकन हुनेछ । विनोदकुमार भुजेलको संगीत, रुपा मानन्धरको मेकअप र शंकर महर्जनको द्वन्द्व रहने फिल्ममा ललीतसिंह साउदको सम्पादन हुनेछ । फिल्म काठमाडौ, मुस्ताङ र पोखरालगायतका स्थानमा छायांकन हुनेछ ।