मुम्बई(एजेन्सी) । गत जनवरी ११ मा आमा बनेकी बलिउड अभिनेत्री अनुष्का शर्मा यसै साता अस्पतालबाट डिस्चार्ज हुँदैछिन् । समाचार अनुसार उनी रातको समयमा अस्पतालबाट घर जानेछिन् । पापराजीबाट बच्नका लागि उनले यो उपाय अपनाएको बताइएको छ ।
मिडियाका फोटोग्राफरले धेरै फोटो नलिउन् भनेर त्यसका लागि उनले बेग्लै गाडीमा घर जाने योजना बनाइरहेकी छन् । अस्पताल स्रोतका अनुसार अनुष्का ब्रीच केण्डी अस्पतालको पछाडिको ढोकाबाट जानेछिन् । यो समयमा त्यहाँ सुरक्षा व्यवस्था कडा पारिने अस्पतालको सुरक्षा विभागले जनाएको छ ।
बुधबार मात्र अनुष्का र उनका क्रिकेटर पति विराट कोहलीले मुम्बईका पापराजीलाई एक सन्देश पठाएका थिए । ‘यतीका वर्षमा तपाईंहरुले हामीलाई जुन माया दिनुभयो, त्यसका लागि धन्यवाद । हामीले यो विशेष मौकाको खुशियाली तपाईहरुसँग मनाउन पाउँदा हामी खुशी छौं । हामी तपाईंहरुलाई एक साधारण अपिल गर्दछौं । आफ्नो आफ्नो छोरीको गोपनियताको रक्षा गर्न चाहन्छौं र यसमा तपाईंले हाम्रो मद्दत र समर्थन गर्नुहुनेछ’, उनीहरुले लेखेका छन् ।