सुदनको गीतमा किन मोडियो नाजिर र रेश्माको माया ?

काठमाडौं । सुव्रतराज आचार्य निर्देशित नयाँ गीत ‘माया किन मोडियो ?’ को भिडियो सार्वजनिक भएको छ । एसजी मेलोडी नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा सुदन गैरेको स्वर र संगीत रहेको छ भने किरण घिमिरे ‘माइकल’ को शब्द सिर्जना छ । गीतको भिडियोमा नाजिर हुसेन र रेश्मा घिमिरे फिचर्ड छन् ।

प्रतिमा शर्माले निर्माण गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् । उत्सव दाहालले खिचेको भिडियोको स्क्रिप्ट निर्देशक आचार्यका छोरा तथा कलाकार साइव्रत आचार्यले तयार पारेका हुन् । उनी यस भिडियोका सहायक निर्देशक पनि हुन् । भिडियोको कन्सेप्ट भने गायक गैरे स्वयंको हो ।

नाजिर र रेश्माबीचको मित्रता देखाइएको भिडियोमा मुस्कान शाह र एलिश खनालको सह–अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ । भिडियोको सम्पादन तथा कलर ग्रेडिङ विकास दाहालको रहेको छ भने प्रोडक्शन म्यानेजर दिपेन गौतम ‘माईकल’ हुन् ।

अहिलेसम्म गायक गैरेले तीनवटा एल्बम निकालिसकेका छन् । २०५५ सालमा साथीहरुसँग मिलेर ‘तरेली’ एल्बम निकालेका उनले २०६५ सालमा दोस्रो र २०७० सालमा तेस्रो एल्बम निकालेका थिए । पछिल्लो समय भने उनले सिंगल गीत नै गरिरहेका छन् । उनी नेपाली सांगीतिक क्षेत्रमा लागेको नै २० वर्ष भइसकेको छ ।