पल्पसा क्याफे अब नाटकमा

काठमाडौं । पछिल्लो समयकीचर्चित अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा डेब्यु गर्ने भएकी छिन् । नारायण वाग्लेको चर्चित उपन्यासमा ‘पल्पसा क्याफे’मा आधारित रहेर सोही नाममा तयार भइरहेको नाटकबाट स्वस्तिमाले डेब्यु गर्न लागेकी हुन् । मंगलबार अनामनगरको मण्डला थिएटरमा आयोजित कार्यक्रममा यो सम्बन्धी जानकारी गराइयो ।

नाटकमा पल्पसाको चरित्र अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गर्दैछिन् । उनले नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच रहेको र यसै समयमा पल्पसा बन्ने प्रस्ताव आएकाले सहर्ष स्वीकारेको बताइन् । उनले पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी गरिरहेको बताइन् ।

‘पल्पसा क्याफे’चाँडै नै उपन्यासबाट नाटकमा रुपान्तरण हुँदैछ । निर्देशकविमल सुवेदीले यसको नाट्य रुपान्तरण गरिरहेका छन् । यही नाटकको जानकारी दिने कार्यक्रममा उपस्थित हुँदै लेखक वाग्लले १५ वर्षपछि पनि उपन्यास आलो रहेको बताए ।  ‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती’आदि नाटक निर्देशन गरेकाविमल सुवेदीले दुई वर्ष अघि भएको एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए ।

थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी छ । कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए । नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ । सुरज सुवेदीले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् ।