मिस एयर होस्टेज इन्टरनेसनलको तयारी

काठमाडौं । एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा ‘नाट—मिस एयर होस्टेज इन्टरनेसनल’को दोस्रो सिजन सुरु भएको छ । जसअन्तर्गत दोस्रो सिजनका लागि छनोट भएका सुन्दरीहरुले नाट कलेजमा अभिनेता मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइबाट विभिन्न विषयमा प्रशिक्षण लिए ।

नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेको छ । इभेन्ट मेनेजर लभिन अन्सारीले प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने बताए ।

प्रतियोगिताका विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रावृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसरसँगै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको फिनाले एभरेष्ट होटलमा हुनेछ ।