नर्भिक अस्पताल भर्ना भइन् निशा

काठमाडौं । भारतमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरे बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन् । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।

मोडलिङ पढ्न थालेको करिब डेढ महिनामा उनी दुर्घटनामा परेकी हुन् । उनका बुवा राजु घिमिरेले देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरेको बताए ।

राजुका अनुसार हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको छ ।

घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।