गंगाले ल्याए लाल ज्योती

काठमाडौं । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले आफ्नो नयाँ गीत ‘लाल ज्योती’को भिडियो सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीतमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् ।

गीतमा भानु ओलीको संगीत रहेको छ । गीतको शब्द पनि भानुले नै तयार गरेका हुन् । यस अघि आफ्नो स्वरमा एक दर्जन गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेका गायक गंगाप्रसालले दर्शकको चाहना अनुसार यो नयाँ लोक भाका बजारमा ल्याएको बताए ।

अरुण उपत्यकाको लय भाकालाई सँकलन गरेर यो गीत तयार गरिएको छ । गीतको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । भिडियोलाई रोहित लाम्गाडेले निर्देशन गरेका छन् । भिडियोको छायाँकन पनि रोहितकै हो । भिडियोमा मोडलहरु सुवोध रसाईली र अन्जली माझीको अभिनय रहेको छ । सुवोध र अन्जली दम्पतीको रुपमा यो गीतमा प्रस्तुत भएका छन् ।

उनीहरुको मेलापातसँगैको निम्नबर्गिय जीवन शैलीलाई भिडियोमा प्रस्तुत गरिएको छ । ढल्कँदो उमेरसँगै मानिसको मुहारको लालज्योती घट्दै जाने र मानिसको बैंश संधै नरहने प्रसँग यो गीतमा प्रस्तुत गरिएको गायक गंगाप्रसाद घिमिरेले बताएका छन् ।

आधा दशकदेखि लोक गायनमा सक्रिय गँगाप्रसाद यतीबेला आफुले यो गीत र यसको भिडियोबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । उनी चाँडै अर्को नयाँ गीत पनि निकाल्ने तयारीमा छन् ।