चितवन । योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण गर्न लागेको नेपाली फिल्म ‘ग्रीन बर्ड’को चितवनमा धमाधम कार्यशाला भइरहेको छ । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ ।
मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मले एक युवतीको जीवनलाई प्रस्तुत गर्नेछ ।
फिल्मका प्रोडक्सन डिजाइनर तथा क्रिएटिभ निर्देशक निगम श्रेष्ठले मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राख्दै कार्यशाला गरिएको बताए ।
निर्देशक कँडेलका अनुसार फिल्म भदौ २५ गतेबाट सुटिङ फ्लोरमा जाने र फिल्मको छायांकन चितवन र नवलपुरमा हुनेछ । फिल्ममा अजय खड्काको सम्पादन र कात्तिक कर्नाटकको छायांकन हुनेछ ।