दर्शकमाझ आउन हिजोआजका कुरा आतुर

काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागि परेको छ । फिल्मका निर्देशक साकार पन्तले शुक्रबार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अवसरमा सम्पूर्ण फिल्मकर्मी तथा फिल्मप्रेमीमा शुभकामना व्यक्त गर्दै आफूहरु फिल्म रिलिज गर्न आतुर रहेको बताएका छन् ।

प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचारप्रसारलाई तिव्रता दिदै गर्दा २०७६ चैत्र ११ देखि भएको लकडाउनको मारमा परेको ‘हिजोआजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने तयारीमा जुटेको छ । ‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौ । त्यसकारण हल सञ्चालक, वितरकहरुसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्त भन्छन्,‘अहिले कोरोना संक्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यसकारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ ।’

‘हिजो आजका कुरा’ २०७७ बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचारप्रसार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशब्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरु सञ्चालनमा आउन सकेका छैनन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा साकार पन्त निर्देशित फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेबिका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।