मृत भेटिइन् कन्नड अभिनेत्री सौजन्या

मुम्बई(एजेन्सी) । कन्नड टेलिभिजन अभिनेत्री सौजन्याले आत्महत्या गरेकी छन् । उनको शवलाई प्रहरीले घरको बेडरुममा झुण्डिएको अवस्थामा फेला पारेको हो । प्रहरीले सुसाइड नोट पनि भेट्टाएको छ ।

सुरुवाती अनुसन्धान पछि अभिनेत्री शोकमा रहेको खुलेको छ । अभिनेत्रीले लेखेको सुसाइड नोटमा आफू शोकमा रहेको उल्लेख गरेकी छन् । यो घटना बेङ्लोरको कंबुलगोडुस्थित एक अपार्टमेन्टमा भएको हो । जहाँ अभिनेत्री एक्लै बस्थिइन् ।

अभिनेत्रीको घरमा प्रहरी पुग्दा उनको घरको कोठा भित्रबाट बन्द थियो । त्यसपछि प्रहरीले ढोका फोडेर भित्र पसेको थियो । जहाँ अभिनेत्रीको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

अभिनेत्रीले आफ्नो मृत्युमा कसैलाई पनि जिम्मेवार बनाएकी छैनन् । उनले आफ्नो परिवारसमक्ष माफी मागेकी छन् । उनले आफू डिप्रेसनको शिकार भएकाले यस्तो निर्णय लिनुपरेको उल्लेख गरेकी छन् । उनले आफू शारीरिक नभई मानसिक रुपले बिरामी भएको जनाएकी छन् । आफूलाई समस्या पर्दा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेकी छन् ।

प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । प्रहरीले अभिनेत्रीको नजिकका साथीहरु र परिवारसँग कुराकानी गरिरहेको छ । सौम्याले कैयौं दक्षिण भारतीय फिल्ममा पनि अभिनय गरेकी छन् ।