मंसिरमा एपिक नेपाल म्यूजिक अवार्ड

काठमाडौं । दुई वटा संस्करण सम्पन्न भइसकेको ‘एपिक नेपाल म्युजिक अवार्ड’को तेस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ । यसपटकको अवार्डमा मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने भएको छ । एपिक नेपाली म्युजिकले अवार्ड आयोजना गर्दै आएको छ ।

विशेष गरी मध्यपुर थिमि भित्रका पुरातात्विक वस्तु, संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले सहकार्य अगाडि बढाएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताए । गत शुक्रबार सिद्धिकाली मन्दिर परिसरमा आयोजित कार्यक्रममा अवार्ड समारोह गर्नुको उद्देश्यसँगै नगरपालिकासँगको सहकार्यको विषय प्रष्ट पारिएको थियो ।

कार्यक्रममा यसवर्षबाट परिवर्तन भएको अवार्डको ट्रफी सार्वजनिक गरिएको थियो । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख श्रेष्ठले अवार्ड समारोहमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘अवार्ड समारोह मध्यपुर थिमि नगरपालिका भित्रै गर्न खोज्नुभएको रहेछ, नगरपालिका भित्रका भाषा, धर्म, संस्कृतिको विषयमा अवार्डमा समेटिने भएपछि झन् खुसी लागेको छ’, उनले भने ।

अवार्ड समारोहकी संयोजक, आयोजक संस्थाकी अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिकासँग जोडिन पाउनु आफ्नो लागि अवसरको कुरा रहेको बताइन् । कार्यक्रममा अवार्ड समारोह आउँदो मंसिर ११ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडेमा सम्पन्न हुने जानकारी गराइयो । साथै शुक्रबारबाट फर्म खुलेको र आउँदो कात्र्तिक १ गतेसम्म फर्म भर्न सकिने बताइएको छ ।

आउँदो कात्र्तिक १३ गते उत्कृष्ट पाँचको नोमिनेशन सार्वजनिक गरिने आयोजक संस्थाका महासचिव राजेन्द्र पुरीले जानकारी गराए ।पुरीले अवार्डलाई विवाद मुक्त र निश्पक्ष तरिकाले सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा समाजसेवी तथा अवार्ड सल्लाहकार कृष्ण बहादुर होना, गणेशमान चक्रधरसँगै नेवारी गायिका सरस्वती मानन्धर, सर्जक तथा गायक कस्तुप पन्त, खेम सेन्चुरी, गायिका टिका पुन, भिडियो निर्देशक काजिश श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थिती थियो । यस्तै चलचित्र पत्रकार सुब्रतराज आचार्य र जीवन पराजुली पनि अतिथिको रुपमा रहेका थिए ।

यसबर्षको तेस्रो एपिक नेपाल म्युजीक अवार्डलाई फरक ढंगबाट लैजान खोजेको अवार्ड आयोजक संस्थाका उपाध्यक्ष कृष्णलाल साहुखलले जानकारी गराए । उनका अनुसार अन्य अवार्डजस्तो एउटै हलमा सम्पन्न गर्ने भन्दा पनि खुल्ला ठाउँ जुन पर्यटकिय स्थलपनि होस् र मौलिकपन झल्कियोस् भनेर मध्यपुर थिमिको बोडेलाई रोजिएको हो । कार्यक्रमको सहजीकरण पत्रकार गोपिकृष्ण चापागाईंले गरेका थिए ।