राधा भइन् एनटीएस कौसी क्वीन

काठमाडौं । दोस्रो ‘एनटीएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । प्रज्ञान क्रियशनद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटीएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन् ।

उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिराइदिएकी थिइन । साथमा नेपालस्थित इजरायली राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटीएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारी लगायतले पनि उनलाई सम्मान गरेका थिए । ताजसँगै उनले ५० हजार रुपैया बराबरको कौसीमा ग्रीन हाउस उपहार पाएकी छन् ।

त्यसैगरी, ‘फस्ट रनर अप’ भक्तपुरकी विनिता राजभण्डारी, ‘सेकेण्ड रनर अप’ बनेपाकी विजया मानन्धर भएकी छिन् । त्यस्तै पोखराकी सरस्वती अधिकारी ‘थर्ड रनरअप’ तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनर अप’ भइन् । कार्यक्रममा अप्रतियोगि पुष्प व्यवसायी भक्तपुरकी राधा मताङगीलाई पनि ‘फ्लावर क्विन’को उपाधीले सम्मान गरिएको थियो । फस्ट रनरअपले २० हजार, सेकेन्ड रनरअपले १५ हजार, थर्ड रनरअपले १० तथा फोर्थ रनरअपले ५ हजार बराबरको कौसी खेतीका सामाग्री पाएका छन् ।

त्यसै गरी सहभागी सबैलाई एक हजार बराबरको सान्त्वना पुरस्कार पनि वितरण गरिएको छ । प्रतियोगितामा देशभरबाट ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो । जसमध्ये ललितपुर थास खेलकी राधा ढकाल, बालाजुकी सरस्वती खाण्ड ठकुरी, चन्द्रागिरीकी चन्द्रमाया माली, कीर्तिपुर २ मैत्रीनगरकी लीला खनाल हाजुर, भक्तपुर सिर्जनानगर आकाश पुलकी विनिता राजभण्डारी, पोखराकी सरस्वती अधिकारी, बनेपाकी विजय मानन्धर, तनहुँ व्यास नगरपालिका ४ संगम टोलकी विमला कार्की, चन्द्रागिरीकी राधिका अर्याल, कीर्तिपुरकी मृदुला श्रेष्ठ र कुलेश्वरकी कृष्ण मैया अधिकारी टप टेन भित्र परेका थिए ।

आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले यस्ता खालका क्रियाकलापले शहरी खेती गर्न सबैलाई आकर्षण गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको बताए । यसपछि १० वटा विद्यामा फार्मर हाउस कम्पिटिसनको आयोजना गर्ने पनि श्रेष्ठले जानकारी दिए । बाख्रा फार्मर अफ दी इयर, भेजिटेवल फार्मर अफ दी इयर, फ्रूट्स फार्मर अफ दी इयर लगायत १० वटा क्याटोरीगरिमा प्रतिष्पर्धा गराई कृषकमाझ कृषिलाई सम्मानित गराउने उद्देश्य हलोखबरले लिएको छ ।

प्रतियोगिताको निर्णायकहरुमा इजरायली राजदूत खनान गोदेर, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, गतसालको फूलतर्फकी विजेता डा.नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी रहेका थिए । कार्यक्रमको प्रमुख प्रयोजक नेपाल थोपा सिचाईले गरेको छ ।

त्यसैगरि यस इभेन्टमा नेपालस्थित इजरायली राजदूतावास, काठमाडौं महानगर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको समेत सहकार्य रहेको थियो । त्यस्तै किसान एग्रीकल्चर प्रालि, एग्रीकेयर नेपाल प्रालि, अन्नपूर्ण अर्गानीक फटिलाइजर, जीसेभेन एग्रीकल्चर प्राली, एग्री नेपाल, सलोम एग्रीकल्चर प्राली, अर्गानीक बायो फटिलाइजर लि, मुक्तिनाथ कृषि कम्पनी लि, काठमाडौँ नर्सरी, सर्वोदय नेपाल, एग्रीभिजन हाई टेक प्रालि, कारितास नेपाल, कारितास अष्ट्रेलियाको पनि सहकार्य गरेको थियो ।

प्रथम बाग्मती प्रदेशस्तरीय कौसी क्विनको सफलता पश्चात् दोस्रो कौसी क्विन २०७८ प्रतियोगिता भने राष्ट्र व्यापी भएको हो । जसमा प्रतियोगितामा सहभागी हुनकालागि सहभागीहरूले कौसीमा रोपिएका तरकारी तथाफूलबारीमा काम गर्दै १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेलमा पठाउनु पर्ने थियो । त्यसपछि कौसी खेतीमा भागलिनेहरुको फोटो हलोखबर डटकमको फेसबुक पेज र यूट्युव च्यानलमा पोस्ट गरिएको थियो । जसमा ६० प्रतिशत लाइक, सेयर, कमेन्टको आधारमा र ४० प्रतिशत निर्णायक मण्डलले नम्बर प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा तीन जनालाई सम्मान पनि गरिएको थियो । जसमा नेपालको व्यावसायिक गोलभेँडा खेतीमा नयाँ सिर्जनालगायतका जात विकास गरी कृषि क्षेत्रमा पुर्याएको योगदानका लागि डा. केदार बुढाथोकीलाई अतिथिहरूबाट सम्मान पत्र प्रदान गरिएको थियो । त्यसै गरी हलोखबर डटकमका प्रथम विज्ञापन दाता श्रीकृष्ण अधिकारीलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै हलो खबर डटकमका उत्कृष्ट रिपोटर्सको रूपमा रेखा श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो