द गोर्खाजको यो महामारीले

काठमाडौँ । द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा ‘यो महामारीले’ भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ । सन २०१४ सालमा स्थापना भएको ब्यान्डको यो पहिलोपटक रेकर्ड भएको गीत हो ।

गीतमा कोभिड–१९ महामारीको प्रकोपबाट भएको मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मी प्रति यो गीतलाई समर्पण गरिएको छ ।

अरुन पाइजा पुनको स्वर र शब्द रहेको यो गीत नेपाली स्वादको रक जनरामा कम्पोज गरिएको छ । महामारीले उजाड बनाएको अहिलेको संसारमा मानिसले अज्ञात भयलाई बोकेर बाँच्नु परेको कुरालाई गीतले औंल्याएको छ ।

हङकङको सेक किप मेइ भन्ने स्थानमा रहेको जेसिसिए स्टुडियोमा रेकर्ड गरिएको गीतले कोभिड विरुद्ध लडन जनचेतना जगाउने सन्देश पनि दिएको छ । सेन्टर फर कम्युनिटी कल्चरल डेभलपमेन्ट भन्ने सन् २००४ सालमा स्थापित हङकङको एक सामाजिक संस्थाले आयोजना गरेको अन्लाईन कम्युनिटी म्युजिक फेस्टिभलमा नेपाली समुदाय पनि महामारी कोभिड १९ को निराकरण अभियानमा सचेत छ्न भन्ने संदेश दिन यो गीत प्रायोजक बनाएको हो ।

गीतमा साथ दिने वाद्यवादकहरु क्रमशः बेस गिटारमा रोशन थापा, लिड गिटारमा रोशन लिम्बु, सारंगीमा साम तमु, बासुरीमा कुल गुरुङ, ड्रममा पेट्रीक मगर रहेका छन् ।