अनुपम लेख्छन्–नेपालमा जीवन परिवर्तनको अनुभव भयो

काठमाडौं । गत ४ अक्टोबरदेखि नेपालमा छायांकन भएको भारतीय फिल्म ‘उचाइ’ को छायांकन सेप्टेम्बर २८ मा सकिएको छ । पहिलो सेड्युलअन्तर्गत दुई दिन काठमाडौं र बाँकी समय नेपालको हिमाली जिल्लामा छायांकन गरिएको हो ।

गत बिहीबार नेपाल सेड्युल ’इन्ड क्ल्याप’ गरेको फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी भारत फर्किसकेका छन् । हिमाली भेगतर्फ लुक्ला र नाम्चेको सुन्दरता कैद गरेपछि फिल्मका कलाकार अनुपमले नेपालको सुन्दरताको प्रशंसा गरेका छन् ।

सोसल मिडियामार्फत नेपालको सुन्दरताबारे आफ्ना फ्लोअर्सलाई जानकारी दिइरहेका अनुपमले एक स्ट्याटस पोस्ट गरेका छन् । उनले सामाजिक सञ्जालमा बितेको २७ दिनमा जीवन परिवर्तनको अनुभव भएको जनाएका छन् । ’मलाइ मेरो क्षमतालाई चुनौती दिन र आफूलाई पुनः आविष्कार गर्न उत्प्रेरित गर्‍याे । अभिनेता र व्यक्तिगत दुवै रूपमा,’ अनुपमले लेखे ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पाको पनि अभिनय रहेको छ। यद्यपि नेपालमा अमिताभ बच्चन आएनन् । स्वास्थ्यले साथ नदिएका कारण उनी आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताएका छन् । चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले निर्वाह गरेका थिए ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले फिल्मको छायांकन निर्धारित सेड्युल अनुसार नै भएको बताए ।

फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले ’उँचाइ’ पछि अन्य भारतीय फिल्म पनि छायांकनका लागि आउने विश्वास व्यक्त गरे । ’उहाँहरू नेपालको सुन्दरता देखेर मोहित हुनु भएको छ । आस छ, यसको चर्चा बलिउडमा हुनेछ,’ अरुणले भने ।