काठमाडौं । निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । फिल्ममा परशुराम बस्नेतको लगानी हुनेछ । नेकपा एमालेका यूवा नेतासमेत रहेका बस्नेतले पहिलो पटक फिल्ममा लगानी गर्न लागेका हुन् । उनी नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिवसमेत हुन् ।
फिल्ममा एक्सनलाई प्राथमिकताका साथ प्रस्तुत गरिने सुदर्शनले बताए । लभ स्टोरी फिल्ममा जमेका सुदर्शनले अब एक्सन जनराको फिल्म पनि निर्देशन गर्नेछन् ।
यो फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
फिल्मको कथा शिवम अधिकारीले लेखिरहेका छन् । माघको दोस्रो साताबाट यो फिल्मको छायांकन सुरु गरिने निर्माण पक्षले बताएको छ ।
सुदर्शनले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ । सुदर्शनले फिल्म ‘मेरो एउटा साथी छ, ‘मेरो लभ स्टोरी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ जस्ता सफल प्रेम कथाका फिल्म निर्देशन गरिसकेका छन् ।