धुलिखेलमा डि सिने अवार्ड

काठमाडौं । आगामी चैत १२ गते काभ्रेको धुलिखेलमा १२ औं संस्करणको ‘डि सिने अवार्ड’ हुने भएको छ । छाँयाछवि क्रिएसनले विगत १२ वर्षदेखि आयोजना गर्दै आएको यो अवार्डका लागि आयोजकले २७ विधामा ‘उत्कृष्ट ५’ को मनोनयन सार्वजनिक गरेको छ ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले यो अवार्ड कोभिडका कारण विगत २ वर्षदेखि आयोजना हुन नसकेकोले २०७६ मा रिलिज भएका फिल्महरुको प्रतिस्पर्धा अहिले गर्न लागिएको बताए । उनका अनुसार अवार्डका लागि वर्ष २०७६ मा रिलिज भएका ६१ फिल्ममध्ये प्रिजजमार्फत ३६ फिल्म छानिएका थिए ।

अवार्डका लागि लेखक तथा निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री मोडल तथा साहित्यकार शोभिता सिंखडा निर्णायक रहेका थिए ।

अवार्डमा उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट ध्वनी मिश्रण, उत्कृष्ट गीतकार, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट हाँस्य कलाकार, उत्कृष्ट खलपात्र, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट सम्वाद, उत्कृष्ट नव–नायिका, उत्कृष्ट नव–नायक, उत्कृष्ट नव–निर्देशक, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट सह–अभिनेत्री, उत्कृष्ट सह–अभिनेता, उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्र छन् ।