जेठ ६ मा सम्झना बिर्सना

काठमाडौं । प्रेमकथानक फिल्म ‘सम्झना बिर्सना’ २०७९ साल जेठ ६ गते प्रदर्शनमा आउने भएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्मले फस्टलुक सार्वजनिक गर्दै रिलिज मिती पक्का गरेको हो ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिशिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको फिल्म अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो । सार्वजनिक पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।

शिव ढकालको छायांकन रहेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत र कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.विशारद बस्नेत हुन् ।

आफूहरुले गुणस्तरिय फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको निर्माता आदित्य बताउँछन् ।