काठमाडौं । नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा आज सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच फिल्म बन्ने घोषणा गरिएको हो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारका समेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ , नम्रता श्रेष्ठ , सारुक ताम्राकार लगायतको अभिनय रहनेछ ।
थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुनेछ । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, कलाकारहरु विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार, निर्देशक राजीव गुरुङ, प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो । सिक्किममै रहेका निर्देशक साम्तेन भुटिया पनि कार्यक्रममा उपस्थित थिए ।
सिक्किममा छायांकन गरिने फिल्मले दुबै देशको पर्यटनमा सघाउने विश्वास मन्त्री शर्माले व्यक्त गरे । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यहिँ अनुरुप फिल्म बोर्ड , फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् उनीहरुले एक करोड रुपैयाँ पाउनेछन्’ मन्त्री शर्माले भने । उनले कार्यक्रममा बोल्दै फिल्मको माध्यमले पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिए । ‘हाम्रो ठाउँमा छायांकन गर्ने हामीले सघाउनु पर्ने ठाउँमा हामी सदैव तयार छौँ’ मन्त्री शर्माले भने ।
‘हामी स्वागत गर्दै तपाईलाई चाहिने सहयोग गर्न तत्पर छौँ । हाम्रो सुन्दरतालाई कैद गर्न आएका फिल्मकर्मीलाई हामी सदैव सहयोग गर्न तयार छौँ । यहाँसम्म आइदिनु भएकोमा हामी आभारी छौँ’ सञ्चार सचिव बस्नेतले भने । सिक्किम फिल्म प्रोमोसन बोर्डका अध्यक्ष शर्माले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै सिक्किमको फिल्म पोलिसीको बारेमा समेत बताइन । ‘सिक्किममा ७५ प्रतिशत छायांकन गर्ने फिल्म र ५० प्रतिशत कलाकार र प्राविधिकलाई फिल्ममा सहभागिता जनाउने पोलिसी सिक्किम सरकारको छ । हामी यहाँ ग्रहण टिमलाई हरेक पक्षमा सहयोग गर्न तत्पर छौँ’ बोर्ड अध्यक्ष शर्माले भनिन् ।
फिल्मको बारेमा बोल्दै अभिनेता विनयले यो लभ थ्रिलर फिल्म रहेको बताए । ‘मैले मेरो क्यारेक्टर रिभिल गर्न मिल्दैन । मेरो क्यारेक्टरको नाम विवेक हो । मलाइ सिक्किम दोस्रो घर जस्तो लाग्छ । यसपटक यहाँको मनोरम दृश्यमा काम गर्न पाउँदा निकै उत्साहित छु’ विनयले भने । कलाकारसँगै फिल्मको कार्यकारी निर्माता समेत रहेका विनयले फिल्ममा सिक्किमका कलाकारहरुसँगै प्राविधिक समेतको सहभागिता रहने बताए ।
फिल्मको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ले छायांकन गरेको सम्झिन । ‘मैले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिँबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । यो फिल्ममा मेरो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको हो । फिल्मको स्टोरी लभ , थ्रील , ड्रामा मिश्रित भएकाले मैले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन् । सरुकले पनि बोल्ने क्रममा केहि समय अगाडी म्युजिक भिडियो छायांकन गर्न आएको पललाई सम्झिए । ‘मैले म्युजिक भिडियोमा छायांकन गर्न आउँदा नै यहाँ राम्रो संकेत पाएको थिए । फिल्ममा मेरो क्यारेक्टर एन्टागोनिस्ट हिरोइनको प्रेमीको हो’ उनले भने ।
‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने गर्दैछन् । फिल्ममा हरी हुमागाईंको छायांकन , प्रविन श्रेष्ठको सम्पादन , बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिटै छनौट गर्ने निर्देशक गुरुङले बताए ।